७ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेकपाद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए । “ दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ”, उनले भने, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।”

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।” पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उनले भने, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।” नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याए । नेकपा महासचिव विष्णु पौडलले कम्युनिष्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गरे ।

जनताको पीडा, समस्या र अभावमा कम्युनिष्टको परीक्षा भइरहको बताउँदै वडास्तरदेखि केन्द्रतहसम्मका सबै नेता कार्यकर्ताले जनताका पक्षमा असल काम गर्नुपर्नेमा उनले जोड दिएका थिए । महासचिव पौडेलले भने, “पार्टी नेतृत्वसँग कर्णालीको पीडा छ । यहाँहरुले भन्नुभएको छ कि सङ्घीय सरकारले किन बुझ्दैन कर्णाली रु अब कर्णालीको पीडा र भइरहेको विभेद हुन नदिने वाचा गर्दछु ।” कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताए । उनले कर्णालीको मर्म बुझ्न नेतृत्वलाई अनुरोध गर्दै नेकपाको एकीकृत शक्तिले यहाँको पहाडलाई भत्काएर मैदान बनाउन सकिने दृढता व्यक्त गरे ।