७ फागुन
फेसबुकमा लाईभ गरेर आत्महत्या गर्न लागेका काभ्रेका एक युवा फेसबुककै कारण बाँच्न सफल भएका छन । आफ्नो डेरामा फेसबुक लाईभमै आएर आत्महत्या गर्न खोजेका बेला फेसबुकले नेपाल प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई घाईते अवस्थामा उद्धार गरेको छ ।
उनले फेसबुकको लाईभमा आएर आफैमाथी चक्कु प्रहार गरिरहेका थिए । घटनाबारे फेसबु्कको मुख्यालयले नेपाल प्रहरीलाई इमेलमार्फत जानकारी गराएपछि आफुहरु उद्धारमा जुटेको नेपाल प्रहरीले जानकारी दिएको छ । आफैमाथी चक्कु प्रहार गर्दा गम्भीर घाईते बनेका उनको अहिले अस्पतालमा उपचार भईरहेको छ । विदेशमा रहेकी प्रेमिकासँग भेट हुन नपाएको पीडामा उनले आत्महत्या गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पछिल्लो समय फेसबुकमा लाइभ गरेर आत्महत्या गर्न खोज्ने घटना बढेपछि यसमा फेसबुक मुख्यालय चनाखो बन्दै यस्ता घटनाको बारेमा सम्बन्धित देशको प्रहरीलाई उद्धारका लागी अनुरोध गर्न थालेको छ । फेसबुकमा लाइभ देखाउँदै गतवर्ष चितवनका २५ वर्षीय निश्चल तामाङले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए भने, फेसबुकमा लाइभ भिडियो प्रशारण गरेर आत्महत्या गर्न लागेकी महोत्तरीकी एक युवतीले सिन्धुलीमा उद्धार भएको थियो ।









