२० मंसीर
काठमाडौँ, नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं, पोखरा र जनकपुरमा गरी १९ खेलमा प्रतिस्पर्धा हुनेछ । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हनेछ भने कुस्ती जनकपुरमा हुनेछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।
गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट शुरु हुनेछ । गल्फको तेस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।
उता, पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।
यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो । साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ ।









