९ कार्तिक

पर्वत, जिल्लाको मोदी गाउँ पालिका वडा नम्बर ६ तिलाहारमा रहेको डि मूवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथिको रूपमा साधारण सभाको उदघाटन गर्दै मोदी गाउँ पालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष विमल लामिछाने ले सहकारीहरुले स्थानीय स्तरमा छरिएर रहेको पूँजी लाई एकीकृत गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

सो अवसरमा डि मुवा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष दिपेन्द्र जङ्ग लामिछाने, मोदी द्वीप सहकारीका अध्यक्ष ठक्कर प्रसाद शर्मा, समाजसेवी नन्दलाल भण्डारी, रेडियो शालिग्राम १००.६ मेगाहर्ज का कोषाध्यक्ष भूमिराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष रुद्र प्रसाद पौडेलबाट आव ०७५/७६ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र सुबेदिबाट आर्थिक प्रतिवदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा मासिक बचत तर्फ प्रेम बहादुर लामिछाने, दैनिक बचत तर्फ एकराज पौडेल, सावित्री जिसी र रामकृष्ण पौडेल, ऋण तर्फ प्रेम प्रसाद शर्मा, महेन्द्र विक र राधिका तामाङलाई सम्मान गरिएको थियो ।

सहकारीमा हाल १३४ जना सेयर सदस्य, ६२१ जना बचत सदस्य रहेका छन् भने कुल शेयर पुँजी ७९ लाख ८ हजार रहेको छ । संस्थाको कुल बचत रकम ३ करोड ९१ लाख ६१ हजार ८ सय ८८ रहेको छ भने ऋण लगानी २ करोड ५० लाख ९३ हजार १ सय ६७ रहेको छ । संस्थाका अध्यक्ष रुद्र प्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत संस्थाका सहसचिव भोलाराज सुवेदीले गर्नुभएको थियो भने सञ्चालन सचिव कमलराज रिमालले गर्नुभएको थियो ।