१५ भदौ

पर्वत । निर्वाचनअघि दलका नेताहरुले संघीयता कार्यान्वयनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै जनतालाई भ्रम छरे । तर सिंहदरबारको अधिकार गाउँमा पु-याउने नारा ब्यवहारमा लागु भएको छैन । गाउँमै सबै अधिकार तथा सेवा सुविधा पाउने भनिएपनि विगतमा जिल्ला सदरमुकामबाट पाएका सुविधा लिन अन्य जिल्लामा धाउनुपरेको गुनासो यतिबेला हामीहरु जतासुकै सुन्न पाउने गरेका छौ ।
संविधानमा भएका कुरा पनि कार्यान्वयन नगरीएको भन्दै स्थानीय तहहरुले बिरोध गरेका हुन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सिंहदरबारको अधिकार गाउँमा भनेर भ्रममात्रै छरिएको दाबी गरे । उनले सेवा लिन अन्य जिल्लामा जानुपर्ने अवस्थाले संघीयताप्रति जनताको धारणा बदलिन थालेको बताएका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्री विकास लम्सालको अगाडी गाउँपालिकाको अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता मल्लले संघीयतामार्फत जनतालाई अधिकार दिने भनेर प्रदेश र संघ सरकारले छलछाम गरिरहेको टिप्पणी गरेका हुन ।
‘हिजो जिल्ला सदरमुकामबाट हुने बिषयगत शाखाका काम लिन अहिले बागलुङ र स्याङ्जा धाउनुपरेको छ, तर गाउँमा सिंहदरबारको अधिकार भनेर भ्रममात्रै छरिएको छ’ उनले भने । जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा गौशाला निर्माणका लागि आयोजना गर्न लागिएको महायज्ञको तयारी भेलालाई सम्बोधन गर्दै मल्लले प्रदेश र संघ सरकारले पुनः छुट्टाछुट्टै कार्यालयका शाखा जिल्लामा स्थापना गरेर स्थानीय तहको भुमिका प्रभावहिन बनाउन थालेको बताए ।
‘संविधानअनुसार प्रदेश र संघ सरकारले पुराना कार्यालयलाई ब्युताउन पाउदैनन्’ उनले भने । उनले माथिल्ला दुई सरकारले स्थानीय तहको सरकारसँग बिना समन्वय काम गरिहेको पनि गुनासो गरे । ‘अहिले तीन तहको सरकार छ । तर एकअर्कासँगको समन्वय नै छैन । माथिल्ला सरकारले तल्ला सरकारका अधिकार खोस्ने, अंकुस लगाउने, काम गर्न नदिने मात्रै भइरहेको छ’ उनले भने–‘स्थानीय तहको सरकारको अधिकार संविधानमा हुन्छ तर लागु गर्न अबरोध गरिन्छ । संविधानअनुसार काम गर्न नपाएको अवस्था छ ।’
उनले यस्तै रहेमा गाउँपालिका र नगरपालिका महासंघले केन्द्रीय सरकारबिरुद्धमा मुद्दा हाल्ने तयारी भएको पनि खुलासा गरे । प्रदेश र संघमा गाउँसभा र गाउँकार्यपालिकाले महत्वपूर्ण निर्णय गरेर पठाएका योजना रोक्ने र चोरबाटोबाट गएका योजना दिने गरिएकोमा पनि उनले आक्रोश पोखे ।
यसैबिच मल्लले गौशाला निर्माणका लागि आयोजना हुने महायज्ञ सफल पार्न सबैलाई आग्रह गरे । ९५ प्रतिशत हिन्दु रहेको मुलुकमा आज धर्मनिरपेक्षता घोषणाले सनातनधर्ममाथि आक्रमण भएको बताए । उनले जलजलाको सिमसारक्षेत्र नेपालकै सुन्दर रमणीय ठाउँ भएकोले त्यसको विकासका लागि सबैको साथ हुनुपर्ने बताए ।
तीन हजार तीन सय मिटर उचाईको हम्पालको लेकमा तालसहित भौतिक संरचना निर्माण गरी पर्यटक तान्ने योजना सफल बनाएरै छाड्ने मल्लले दाबी गरेका छन् ।

त्यसको डिपिआरका लागि गाउँपालिकाले चालु आर्थिक बर्षका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको छ । हम्पालको लेकमा नेपालकै सबैभन्दा बढी प्रजातिका लालिगुरास पाइने गर्छ । त्यस्तै जडिबुटी, जङ्गली जनावरको अवलोकन, आकर्षक हिमश्रृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । जलजला गाउँपालिकाले हम्पालको विकासले जलजला गाउँपालिकाको विकास र समृद्धिलाई महत्वपूर्ण सघाउने भएकोले गाउँपालिकाले प्राथमिकता दिएर लागेको जनाएको छ ।