५ भदौ
पर्वत । पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।
गए राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राती घरमा सुतेको अवस्थामा हिजो राती ११ वजे घर भत्किएकाले चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारमा सिरक ओढेर सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको छ ।
प्रहरीका अनुसार मृतकको शब पोष्टमार्टमा लागि जिल्ला अस्पताल पर्वतमा ल्याउदै गरेको छ । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएकी थिईन । उनि सम्पर्कमा आएकी छिन् ।

वर्षा भैरहेका बेला घर भन्दा माथि रहेको सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घर भन्दा माथी मोटरवाटो भएका कारण पनि नालीमा जम्मा भएको पानी घरतिर वगेको थियो ।

उक्त घटनास्थलमा संघिय सांसद पदम गिरी,कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,प्रहरी नायव उपरिक्षक श्यामू अर्याल,नेपाल रेडक्र जिल्ला शाखा पर्वतका सभापती रुद्र वहादूर रीमाल लगायत सशस्त्र प्रहरी,नेपाल प्रहरी संचारकर्मीहरुको टोली गएको थियो ।

पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ । घर पूर्ण रुपमा क्षेती भएको छ ।
चालिसेका दुई छोरा र पांच छोरीहरु रहेका छन् । छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेश कतारमा र एक छोरा पोखरामा बस्दै आएक छन् ।









