२ भदौं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वरीयता विवादको टुंगो लगाएको छ। वरिष्ठताको आधारमा अब माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्।
वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले वरिष्ठताको विषयलाई टुंगो लगाएको हो। नेकपा सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ।
सचिवालयको निर्णयमा नेता नेपालले आपत्ति जनाएका छन्। उनले जनवर्गीय संगठनको नेतृत्व चयन र वरियताको विषयलाई लिएर नोट अफ डिसेन्ट लेखेका छन्। नेकपाले शुक्रबार ३३ वटा विभागको नेतृत्वको टुंगो लगाएको थियो।
उसले सातै प्रदेशमा २–२ जना सहइन्चार्ज पनि तय गरेको थियो।
ओलीले बदला लिएः नेता नेपाल
स्रोतका अनुसार बैठकमा नेता नेपालले वरियता खोस्ने प्रस्तावको कुनै प्रतिवाद गरेनन् । बरु यो आफूले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको त्रुटी भएको बताए । झलनाथ खनालसँग बदला लिन आफूलाई तेस्रो वरियता दिएको र अहिले आफूसँग बदला लिन खनाललाई अघि सारेको उनले बताए ।
नेता नेपालले तत्कालीन एमालेमा उपाध्यक्षभन्दा तल रहेका नेताहरु अहिले नेकपाको सचिवालयमा रहेको भन्दै त्यो त्रुटी सच्याउन पनि प्रस्ताव राखेका छन् ।
यसो भएमा अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवाली सचिवालयमा ल्याउनुपर्ने हुन्छ । किनकी, तत्कालीन एमालेमा तीन नेता उपाध्यक्ष थिए भने तत्कालीन महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल हाल सचिवालयमा छन् ।









