१ भदौं
पर्वत, जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरमा संचालित एक महिने सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम एक विशेष समारोहकाबीच सम्पन्न भएको छ । गाउँभरिका बासिन्दाहरुलाई बिभिन्न रोगहरु, खानेकुरा आपुर्ति र पोषण, मातृशिशु स्वास्थ्य, परिवार नियोजन तथा संक्रामक रोगहरुको खोपका बारेमा सचेतना फैलाउने उद्धेश्यका साथ सो कार्यक्रम संचालन गरिएको हो । पोखरा विश्व विद्यालय, जनस्वास्थ्य कार्यक्रम स्नातक तह तेस्रो बर्ष छैठौ सेमेस्टरका बिद्यार्थीहरु सम्मेलन बिक्रम शाही , समिक्षा गैरे, सुबेच्छा केसी, अनुसा पराजुली, आकृति लम्साल, आस्था शर्मा, अदिती श्रेष्ठ, स्वरुप केसी र सुदिप ढुंगेलको समूहले देउपुरका ४०० घरधुरीको सर्वेक्षणबाट जनसांख्यिक र स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरी प्राप्त नतिजालाई सरोकारवालाहरुबीच सामुदायिक प्रस्तुतिकरण मार्फत जानकारी गराएको हो ।
सो कार्यक्रम अन्तर्गत स्थानीय जननेत्र माविका बिद्यार्थीहरुसँग किशोराबस्थामा देखा पर्न सक्ने खतराजन्य व्यवहारको जानकारी, सेनेटरी प्याड बनाउने तालिम, कोट मैदानमा सुत्केरी आमाहरुसँग बच्चालाई स्तनपानको फाइदाहरु र सुत्केरी जाँचको महत्व सम्बन्धी छलफल, शिव आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई सम्बन्धी जानकारी मूलक कार्यक्रम र सामग्री वितरण गरिएको थियो । साथै मध्यपान, धुम्रपान र गाँजा दुव्र्यसनका बारेमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालयका सहायक प्राध्यापक हरि प्रसाद काफ्लेले जनस्वास्थ्यका सवालहरुमा उल्लेख्य रुपमा खोज अनुसन्धान भइरहेको र त्यसबाट प्राप्त तथ्यहरुलाई सही ढंगले निरुपण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विश्व विद्यालयले समय र समाजको माग अनुसारको व्यवहारिक शिक्षाकोे अभ्यास गरिरहेको र त्यसले समाजमा सकारात्मक प्रभाव देखिएको विचार व्यक्त गर्नुभयो । जननेत्र माविका सहायक प्रधानाध्यापक भूमिराज शर्माले गाउँमा लुकेर रहेका स्वास्थ्य सम्बन्धी समस्याहरुको पहिचान गर्न र सो सम्बन्धी जनचेतना फैलाउन कार्यक्रम फलदायी भएको धारणा व्यक्त गर्नुभयो । अध्ययनको निचोड प्रस्तुत गर्दै समूहका संयोजक सम्मेलन बिक्रम शाहीले गर्भवतीको समयमा अधिकांश महिलाहरुले स्वास्थ्य जाँच गराउने गरेको भए पनि सुत्केरी भए पश्चात जाँच गराउनेको संख्या अति न्यून रहेको जानकारी दिनु भयो । त्यस्तै उहाँले धुम्रपान र मध्यपान गर्ने घरधुरी संख्या उल्लेख्य रहेको पाइएकोले त्यस तर्फ बेलैमा सचेत रही उचित कदम चाल्नु पर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, महिला स्वयंसेविकाहरु, शिक्षक बिद्यार्थी, स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।