३२ साउन
ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।
निज कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । अभियुक्त कामीको घरमा हत्याअगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख भट्टले बताए । “घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्योे”, प्रहरी प्रमुख भट्टले भने, “घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।”
यस्तै बागलुङ नगरपालिका-७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कार गर्दै आएको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो । निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।









