२९ साउन
काठमाडौं । प्रधानमन्त्रीको पदभार सम्हालेदेखि नै केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लगाउँदै आएका छन् । उनले अधिकांश भाषणमा समृद्धिको यो प्रसंग हत्तपत्त छुटाउँदैनन् ।
देश समृद्धिको नारा दिएका प्रधानमन्त्री साच्चै यो अभियानमा खरो उत्रिएका छन् त ? कान्तिपुर दैनिकले आज प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पारेको परियोजनाको रौंचिरा केलाउँदै उनको भनाइ र गराइमा तादम्यता नदेखिएको निष्कर्षसहितको समाचार छापेको छ ।
कान्तिपुरका अनुसार प्रधानमन्त्री ओलीको गृहनगर दमकमा करिब १ दर्जन ठूला विकासे कार्यक्रम र परियोजना उनकै पहलमा सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ । केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन् ।
देवेन्द्र भट्टराई र अर्जुन राजवंशीको सयुक्त ‘बाइलाइन’मा लेखिएको समाचारमा भनिएको छ– ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा ०७२ मा दमकमा विश्वकै अग्लो बुद्धमूर्ति बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ । दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ । १५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको हो । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको छ ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रको योजना यतिमै सकिन्न । कान्तिपुरका अनुसार दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ । सहरी विकास मन्त्रालयले करिब ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको हो । यसको ठेक्का सम्झौता भइसकेको छ ।
त्यसैगरी, २ अर्बमा विज्ञापन पार्क, १ अर्ब ३७ करोडका पुल, २९ करोडमा सभागृह, १५ करोडमा पशुपन्छी बजार र १ करोड २५ लाखमा नमूना मार्गसमेत निर्माण हुँदैछन् ।









