२७ साउन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका रिक्त संरचना सहमतिकै आधारमा बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा अन्तरिम संरचना गठन गर्न बनाइएको निर्देशिकालाई पारित गर्दै २० भदौभित्र पार्टीका रिक्त संरचना बनाइसक्ने सहमति भएको हो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले सहमतिबाटै अन्तरिम संरचना बनाइने सहमति भएको बताए । तर, प्रदेश संरचनाको विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनले जनाए ।
‘प्रदेशबाहेकका संरचनालाई सहमतिबाटै गठन गर्ने सहमति भएको छ । त्यसमा केही मापदण्ड हुनेछन्,’ नेता केसीले भने । कांग्रेसको २२ असारबाट सुरु बैठकमा पार्टीको रिक्त संरचना सहमतिबाट बनाउने कि निर्वाचन प्रक्रियाबाट भन्नेमा विवाद चल्दै आएको थियो । विवाद लम्बिँदै गएपछि संरचना गठनका विषयमा निर्देशिका बनाउने र निर्देशिकाकै आधारमा अन्तरिम संरचना गठन गर्ने गरी अघिल्लो बैठकमा सहमति जुटेको थियो ।
नेता केसीले १४औं महाधिवेशनलाई जतिसक्दो छिटो गर्न निर्वाचन प्रक्रियाबाट जाँदा समय लाग्ने भएकाले सहमतिबाटै अन्तरिम संरचना गठन गर्ने र महाधिवेशनको प्रक्रियामा जाने गरी सहमति गरेको जनाए । उनले यही प्रक्रियाबाट गए प्रदेश संरचनामा समेत सहमति जुट्न सक्ने बताए ।
कांग्रेसले अन्तरिम संरचना बनाउन बनाएको निर्देशिकाअनुसार अब अन्तरिम संरचना गठन गर्न कतै पनि निर्वाचन हुनेछैन । तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन गरिनेछ । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा चयन गरिनेछ ।









