२२ असार
पार्टीको संरचना निर्माणका बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रिय कार्यालयमा अपरान्ह २ बजे बस्ने बैठकमा पार्टीको संरचना निर्माणका बारेमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको संरचना निर्माणका विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन । संरचनामा ६० /४० को अवधारणा अघि सारिए पनि दुबै पक्ष सहमति उन्मुख भने भईसकेका छैनन् । संस्थापन पक्ष पार्टीको संरचना निर्माण गर्ने पक्षमा देखिन्छ भने संस्थापन इतर पक्षले १४ औं महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्नेमा जोड दिदैं आएको छ ।

प्रवक्ता शर्माले पार्टीको विधानले संगठनको अन्तरिम व्यवस्था बारे प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरूप नै गठन हुने बताउनुभयो । बैठकमा संशोधित विधान अनुसार नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले प्रतिवेदन प्रस्तुत गर्ने पनि उहाले जानकारी दिनुभयो ।