१५ असार
सर्लाही । सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एकको मृत्यु, दर्जन बढी घाईते । सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले राजमार्ग खुलाउनेक्रममा दोहोरो झडप भएको हो । झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् ।

घटनामा परी अर्का एक जना प्रदर्शनकारी घाईते भएको बताईए पनि परिचय खुलेको छैन् । प्रदर्शनकारीको तर्फबाट ढुङ्गा प्रहार हुँदा १३ जना नेपाल प्रहरी घाईते भएका छन् । सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाईते भए पनि सङ्ख्या एकिन हुन सकेको छैन् । घाईते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरीले १४ शेल अश्रु ग्याँस र करिव दुई दर्जन हवाई फायर गरेको जनाएको छ । सशस्त्र प्रहरीको तर्फबाट पनि फायरिङ भएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले सडक खुलाउन खोज्दा प्रदर्शनकारीबाट प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि अश्रुग्याँस र हवाई फायर गरिएको बताउनुभयो । उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । गोली लागेर मृत्यु भएका देवन महतो र डुबेर मृत्यु भएका अमित राय दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।