२३ जेठ
काठमाडौँ — सिभिल सहकारीले संस्थामा तरलता अभाव भएको स्विकारेको छ । मंगलबार राजधानीमा आयोजित छलफल कार्यक्रममा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले तरलता अभाव भएको स्विकारे । ‘समाचारमा आएजस्तो सहकारीमा आर्थिक संकट छैन,’ उनले भने, ‘पछिल्लो समयमा निक्षेप झिक्ने बढ्दै गएकाले तरलता समस्या देखिएको छ । त्यसैले हामी अप्ठेरो परिस्थितिमा छौं ।

तत्काल तरलता व्यवस्थापनका लागि अन्तर सहकारी कर्जामार्फत आफ्नो संस्थालाई सहयोग गर्न उनले अरू सहकारी संस्थालाई आग्रह गरे । बैंक तथा वित्तीय संस्थामा हुँदै आएको अन्तर बैंक कारोबारजस्तै अन्तर सहकारी कारोबारमार्फत सिभिल सहकारीलाई सहयोग गर्न उनले आग्रह गरेका हुन् । ‘बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारी ऐनमा पनि अन्तर सहकारी कर्जाको व्यवस्था छ,’ उनले भने, ‘सोही व्यवस्थाका आधारमा सहयोग गरे सिभिल सहकारी फेरि पुरानै अवस्थामा फर्किन सक्छ ।’

सञ्चार माध्यममा आएको समाचारकै कारण निक्षेप बाहिरिन थालेपछि संस्था अप्ठ्यारोमा परेको उनले बताए । ‘एक वर्षदेखि हरेक साता कुनै न कुनै समाचार आइरहेका छन्,’ उनले भने, ‘तपाईंहरू आफैं आकलन गनुहोस् हामीले कसरी व्यवस्थापन गरिहेका हौंला ।’ अब धेरै भएकाले सहकारीका कर्मचारी र व्यवस्थापनको मनोबल कमजोर भएको उनले बताए ।

‘अहिले हाम्रो मनोबल कमजोर भएको छ,’ उनले थपे, ‘यस्तो अवस्थामा अन्य सहकारी तथा सहकारी अभियानको सहयोग आवश्यक छ ।’ संस्थामा ठूला बचतकर्ता भएकै कारण अझै पनि तरलता रहेको उनले बताए । ‘भोलिका दिनमा बचत बाहिरिन्छ कि भन्ने समस्या हो,’ उनले भने, ‘आजको दिनसम्म हामीसँग तरलता छ ।’

संस्थामा देखिएको तरलता अभाव समाधान गर्न सञ्चालकबाटै ऋण सहयोग लिने योजना बनेको तामाङले बताए । ‘एक महिनाभित्रै सञ्चालकबाट ४५ करोड रकम संकलन गर्दै छौं,’ उनले भने, ‘यसको अर्थ हरेक दिन १ करोड ५० लाख रुपैयाँका दरले रकम संकलन गर्ने योजना छ ।’ सिभिल सहकारीको ठूलो लगानी सिभिल ग्रुपमै रहेको पनि अध्यक्ष तामाङले स्वीकार गरेका छन् । ‘यो लगानी एउटै परियोजनामा भएको भने होइन,’ उनले भने, ‘लगानीको ८० प्रतिशत सिभिल ग्रुपमा लगानी भएको छ ।

एउटै परियोजनामा होइन ।’ सिभिल ग्रुपभित्र धेरै परियोजना रहेकाले सहकारीको लगानी विविधीकरण गरिएको उनले दाबी गरे । एउटै क्षेत्रमा ८० प्रतिशत लगानी गर्नु जोखिमपूर्ण रहेको काठमाडौं महानगरपालिकाको सहकारी विभागका प्रमुख नमराज ढकालले बताए ।

सहकारीको मर्मविपरीत काम गरेकै कारण संस्थामा समस्या आएको उनले बताए । ‘सिभिले सहकारीभन्दा पनि बैंकिङ पद्धतिबाट काम गरेको देखियो,’ उनले भने ।

हाल सहकारीको सेयर पुँजी ७५ करोड रुपैयाँ छ । ५ अर्ब रुपैयाँ लगानीमा रहेको यो संस्थामा ७ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । कुल २६ अर्ब रुपैयाँ बराबर सम्पत्ति रहेको संस्थामा २ हजार ६ सय ९० सदस्य रहेको जनाइएको छ ।

सिभिल सहकारी अझै समस्या आइनसकेकाले लगानी सुरक्षित रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बताएका छन् । सिभिल बचत तथा सहकारी संस्थामा गरिएको लगानी सुरक्षित रहेको स्पष्ट पारेका छन् ।

सञ्चारमाध्यम भनिए जस्तै बैंकको लगानी जोखिमपूर्ण नभएको उनले बताए । ‘हामीले सहकारी बैंकले ४२ करोड बराबरको सम्पत्ति धितोमा राखेर १४ करोड रुपैयाँ मात्रै लगानी गरेका छौं,’ उनले भने, ‘बाहिर चर्चा भएको जस्तो समस्या संस्थामा छैन । हामी सबै मिलेर संस्थालाई सहयोग गरी समस्याबाट मुक्त गर्न सक्छौं ।’

संस्थामा देखिएको तरलता समस्या समाधान गर्न एक सहयोग समिति गठन भएको छ । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । समितिले संस्थाको वास्तविक अवस्था अध्ययन गरी सहयोगका लागि सुझाव दिनेछ ।

संस्थामा आर्थिक हिनामिना भएको, कानुनविपरीत एउटै ग्रुप तथा घरजग्गामा लगानी गरेकोलगायत कारण देखाउँदै अदालतमा मुद्दा परेको छ । यही क्रममा पाटन उच्च अदालतले ‘धितो हस्तान्तरण नहुने व्यवस्था मिलाउन’ निर्देशन पनि दिएको छ ।

यस्तै धितो राखेको जग्गासमेत फुकुवा गरी बिक्री भई सहकारी वित्तीय जोखिममा पर्ने देखेपछि उच्च अदालत पाटनले सिभिल होम्सको जग्गा फुकुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । सभिल सहकारीका एक सदस्यले दायर गरेको निषेधाज्ञाको निवेदन सुनुवाइ गर्दै उच्च अदालत पाटनले तीन दिनभित्र सबै विवरण बुझाउनसमेत सहकारीलाई आदेश दिएको थियो ।

यस्तै सहकारीले एउटै धितोबाट तीन फरक संस्थालाई ऋण दिएको पनि भेटिएको छ । सिभिल सहकारीको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार सुन्धाराको जग्गा धितो राखी सिभिल होम्स, सिभिल अपार्टमेन्ट, सिभिल इस्टेसले फरक ऋण लिएका हुन् ।

उल्लिखित संस्थाले लिएको ऋणको कुल हिस्सा अघिल्लो वर्ष ६ अर्ब ११ करोड रुपैयाँ थियो । जसमध्ये सिभिल होम्सले ५ अर्ब ७६ करोड, अपार्टमेन्टले ३० करोड २४ लाख र सिभिल इस्टेसले ५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ । कान्तिपूरवाट