१६ जेठ

पर्वत–नेपाली काँग्रेस पर्वतले शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज कुनपा १२ ठूलीपोखरीमा जागरणसभा सम्पन्न भएको छ ।
जागरणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले ओली सरकार निरंकुशता र अधिनायकबादी बाटोमा हिँडेको उल्लेख गर्दै ओलीको अधिनायकवादविरुद्ध काँग्रेस सडकमा आउनु परेको वताउनु भएको छ । काँग्रेस नेता श्रेष्ठले सरकारले प्रधानसेनापतिको कमाण्डमा चल्ने सेनालाई प्रधानमन्त्रीको एक आदेशका भरमा परिचालन गर्ने प्रयास गरेको, अदालतमाथि नियन्त्रण गर्न खोजेको, मिडिया काउन्सिल बिधेयकमार्फत स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खाजेकोले काँग्रेस सडक र सदनबाट आन्दोलन गर्न बाध्य भएको दावी गर्नुभयो । उहाँले सरकारका कमिकमजोरीबिरुद्धमा बोल्नै नपाउने, मिडियाले लेख्नै नपाउने अवस्था रहने हो भने कम्युनिष्ट सरकारको मात्र होइन, कम्युनिष्टबिरुद्धमै आन्दोलनको आधीबेहेरी ल्याउने चेतावनी दिनुभयो ।
श्रेष्ठले काँग्रेसका नेताहरु माथिबाटै सच्चिएर एकताबद्ध भएर अगाडी बढेमा सबै अधिनायकबादी र तानाशाहहरु पराजित भएको स्मरण गर्दै नेतामा सुधार आउनुपर्ने कार्यकर्ताको भनाईमा आफ्नो समर्थन रहेको बताउनु भयो । श्रेष्ठले काँग्रेसले देशभर सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानले पार्टीमा राम्रो सन्देश सञ्चार गरेको भन्दै मुलुकमा भएका भ्रष्टाचार, अपराधका काण्ड, सरकारले निरन्तर गरेका गलत कामको भण्डाफोर गर्ने, बिधानको बिषयमा तल्लो तहसम्म जानकारी दिने, कार्यकर्तामा एकताको सन्देश दिने जानाकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीले बिधि, बिधानअनुसार काम गरेको भन्दै पद भन्दा पार्टी र जनताको भावनामा काम गर्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । सभापति भुसालले आफु हालसम्म पार्टीले दिन्छ भन्दापनि पार्टीलाई दिनका लागि काम गर्दै आएको भन्दै अव कम्युनिष्टको भ्रम सबै जनतालाई प्रस्ट भइसकेकाले त्यस्ता भ्रमको पछि नलागी काँग्रेसको बिचार, भावनाअनुसार लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख तथा कुश्मा नगरका नगर सभापति रामचनद्र जोशी, महिला संघका केन्द्रीय सदस्य माया राना, कुश्मा नगरपालिकाका उपप्रमुख तथा महाधिबेशन प्रतिनिधि सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य डा. चूडामणि शर्मा, काँग्रेस नेता एवं पूर्व महाधिबेशन प्रतिनिधि राम शर्मा पौडेल र नेका ठुलीपोखरीका सभापति कुमार सुवेदी लगायतले पार्टीले शुरु गरेको जागरण अभियानका विषयमा बोल्नु भएको थियो ।
पार्टी सभापति खिप्रसाद भुसालको सभापतित्वमा भएको उक्त कार्यक्रमा कुश्मा नगरपालिकाभित्रका विभिन्न वडाहरुबाट काँग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागिता रहेको काँग्रेसका शिव परियारले जानकारी दिनुभयो ।