
१३ जेठ
काठमाडौं । आइतबार राजधानीमा भएको श्रृंखलावद्ध विष्फोटमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गराएको शृङ्खलाबद्ध बम विस्फोट तीन ठाउँमा भएको थियो ।
सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुँदा विस्फोटमा परी आठजना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो भने थानकोट (चन्द्रगिरी नगरपालिका–३ ) इँटाभट्टा चोकमा बम विस्फोट भएको थियो ।
तीन वटै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीले जनाएको छ । सुकेधारा र घट्टेकुलोमा बम बनाउने क्रममै विस्फोट भएको थियो ।
सुकेधारा घटनामा तीन जनाको मृत्यु हुँदा पाँच जना घाइते भएका छन् । घट्टेकुलोमा एक जनाको मृत्यु हुँदा एक जना घाइते भएका छन् । त्यस्तै थानकोटमा दुई जना घाइते भएका छन् ।
सुकेधारामा नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित ६ जनाको समूह बम बनाउन सक्रिय थियो । घटनास्थलमै मृत्यु भएका एक जनाको शव क्षतविक्षत भएको थियो ।
दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । महर्जन घाइते छन् ।
घट्टेकुलोमा भएको विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते छन् । केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी त्रिचन्द्र कलेजका इकाई सभापति हुन् ।








