१० जेठ

बेनी, म्यादी प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका ५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसान रहेका छन् । घटनालगत्तै फरार विकास र प्रेम गाउँबाटै पक्राउ परेका हुन्। भागेर बागलुङको बुर्तीवाङ जाँदै गरेका कृष्णलाई मालिका गाउँपालिका–२ रुमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले बताए। ‘उनीहरुविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत म्याग्दीबाट अनुसन्धानका लागि हिरासतमा राख्न तीन दिनको म्याद थप गरेका छौँ,’ मरासिनीले भने, ‘प्रारम्भिक बयानका क्रममा अपराध स्विकार गरेका छन्।’

गत मंगलबार रातको १२ बजे १५ वर्षीया बालिकालाई पिसाव फेर्न घर बाहिर निस्किएको बेला नजिकैको बारीमा लगेर बलात्कार गरेका थिए। चिच्याउन र हारगुहार गर्न नपाउने गरी मुख थुनेर पालैपालो करणी गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख छ।

उनीहरुले मंगलबार बिहान सिंगा तातोपानी प्रहरी चौकी मार्फत उजुरी गरेका थिए। पीडित बालिका तीन घण्टा बेहोस भएकी थिइन्। उनको अवस्था अझै विक्षिप्त छ। किशोरीको बेनी अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।