२७ वैशाख

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि विनियोजन हुने पूर्व बजेट (प्रि–बजेट) शुक्रबार दखि संसद्‌मा छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको गत मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शुक्रबारदेखि प्रि–बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल थालिने जानकारी गराएका थिए ।

उक्त मंगलबारको दिन नीति तथा कार्यक्रम पारित गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहहरुले उठाएका प्रश्नलाई ‘निम्छरा’ भनी अभिव्यक्ति दिएपछि उनको काँग्रेसले चर्को आलोचना गर्यो ।

प्रधानमन्त्रीले यसरी प्रतिपक्षलाई हेप्दा सभामखु महरा नतमस्तक भएर प्रधानमन्त्री ओलीकै पक्ष लागेर बसेपछि प्रतिपक्ष एकाएक तात्तिएको हो । यो परिस्थितिले गर्दा सत्ताधारी र प्रतिपक्षबीचको दूरी बढेको छ ।

सहमतिमा नीति तथा कार्यक्रममा केही पनि संशोधन गर्नु नपर्ने निचोडसहित नेकपा नेतृत्वको सरकार अगाडि बढेपछि प्रि–बजेट पनि केबल ढोंग भएको स्पष्ट हुँदै गएको छ ।

प्रतिपक्षीका कुरा नै नसुन्ने मनस्थितिमा ओली सरकार पुगेकाले प्रि–बजेटमाथिको औचित्यमाथि प्रश्न खडा भएको छ ।

बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम छ ।

आगामी आवको पूर्वबजेट निर्माणमा सरकारलाई सहयोग गर्नका लागि दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अघि आ–आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउन समेत सभामुख महराले अनुरोध गरेका छन् ।