
२६ वैशाख
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जान लाग्नु भएकाे हाे।
परराष्ट्र अधिकारीका अनुसार आज अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्नु हुनेछन् । प्रधानमन्त्री ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् । वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियामै रहनुहुने प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री ओलीको भ्रमणले भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताइएकाे छ । दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट नेपालले लाभ लिन सक्ने डा. भट्टराईले उल्लेख गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीसहित मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्कँदै छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन्।








