२४ वैशाख
युवा उद्यमी चन्द्र प्रसाद ढकाल र हेमराज ढकालले बाग्लुङमा बनाएको सुविधासम्पन्न विद्यालय भवन विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेका छन । बाग्लुङ नगरपालिका अमालाचौरमा निर्मित १४ कोठे भवन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच हस्तान्तरण गरेकी हुन । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा ६ करोड बढि खर्चिएर सो भवनको निमार्ण गरेका थिए ।
भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गदैं राष्ट्रपति भण्डारीले विद्यालय भवन निमार्ण गरेका ढकाल दाजुभाईको प्रशंसा गरेकी थिईन । निजी क्षेत्रबाट भएका यस्ता कार्यले मुलुक समृद्ध बनाउने भण्डारीको भनाई थियो । कार्यक्रममा राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेल, सुर्य पाठक, मना केसी लगायतले ढकालको योगदानको चर्चा गरेका थिए ।
ढकालका स्वर्गीय बुवाको स्मरणमा ६ करोड खर्चेर विद्यालय भवन बनाईदिएपछि साविक पृथ्वी उच्च माध्यामिक विद्यालयको नाम फेरेर बावुको नाम जोडिएको छ । सोही कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण भएको छ भने विद्यालय परिसरमा व्यसायी ढकालका पीता हिरण्ड्य ढकालको शालिक स्थापना भएको छ ।









