८ वैशाख
पथरी । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहानै आफ्नै डेरा अघि नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शव पोष्टमार्टमका लागी धरान लगिएकोे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा पोष्टमार्टम गर्न प्रहरीले शव ल्याएको हो । पथरीमा कस्मेटिक पसल चलाउदै आएकी बस्नेत मृत अवस्थामा मर्निङ वाक गर्नेहरुले सबेरै देखेका थिए । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका पनि गरिएको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने त्यस्तो तथ्य भेटिएको छैन । उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् ।
घोप्टो परेको अवस्थामा रगत पनि बगेको थियो । त्यसैले उनलाई बलात्कार गरेर हत्या गरिएको हुनसक्ने आशंका सबैले गरेका छन् । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ, कोही आएको पनि देखिदैन,’मोरङ प्रहरी प्रमुख एसपी केसीले भने,‘छोरा पनि सँगै थिए, कोही आएको थाह पाइन भनेका छन् ।
प्रहरीका अनुसार मृतक बस्नेतले शुक्रबार राती मदिरा सेवन गरेकी थिइन् । कन्सर्टबाट राती छोरासँगै कोठा आएको र आउदा पनि साथमा वियर लिएर आएको खुलेको छ । छोरासँगको कुराकानीमा पनि मृतकले मापसे गरेको खुलेको छ । ‘छोरासँगै आएर कोठामा सुतेका छन, आउदा वियर पनि लिएर आएका छन,’मोरङ एसपी केसीले भने,‘कोठामा अरु कोही आएको देखिदैन ।’
घटनाक्रम र एउटै कोठामा भएको छोरासँगको प्रारम्भिक वयानबाट कतै ३ तला माथिबाट राती लडेर पो उनको ज्यान गएको हो कि भन्नेतर्फ पनि अनुसन्धान सोझिएको छ । मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । ‘कपडा पनि आफैले खोलेर राखेको, मापसे गरेको र कोठामा पनि कोही आएको संकेत नदेखिएकोले लडेको पो हो कि भन्ने पनि शंका छ, तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ,’मोरङ एसपी केसीले भनेका छन ।









