स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने ।
बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ ।
स्रोतका अनुसार चन्द समूहका नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति पनि रहेकाले त्यसैअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ । आन्तरिक सर्कुलरमा प्रहरीलाई एक जना मात्र बाहिर नहिँड्न, लामो गस्ती समूहमा हिँड्न, आफू जोगिएर फायर खोल्न भनिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका दुर्गमका सुरक्षा युनिटमा जनशक्ति बढाउनेदेखि आवश्यक परे सशस्त्र प्रहरीसँग पनि सहकार्य गर्न गृह मन्त्रालयको निर्देशन छ ।









