२३ फागुन

पोखरा । विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् ।

कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।

कलेज प्रशासनले माग पुरा गर्नुको साटो पटक-पटक डाँटेपछि विद्यार्थीहरुले भविष्य नै दाउमा राखेर आन्दोलन गरिरहेका छन् । विद्यार्थीले परीक्षासमेत नदिएका छैनन् ।

विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस तेस्रो वर्षको परीक्षा दिएनन् । परीक्षामा सन् २०१५ व्याचका ८३ र सन् २०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ विद्यार्थी गरी ८६ जनाले परीक्षा नदिएका हुन् । उनीहरुले अब नियमित परीक्षा पनि पूरकका रुपमा दिनुपर्नेछ ।