१६ फागून

सामाजिक संजाल फेसबुकमा मन्त्री रबिन्द्र अधिकारीको एकाउन्ट परिवर्तन भएको छ । मन्त्री अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि फेसबुकले उनको फेसबुक एकाउन्ट परिवर्तन गरेको हो । अब उनको एकाउन्ट खोल्दा उनको नामको अगाडी ‘remembering’ भन्ने शब्द देख्न सकिन्छ ।

आफ्ना प्रयोगकर्ताको निधन भएपछि फेसबुकले उनीहरुको सम्झनामा यसरि एकाउन्ट परिवर्तन गरिदिने गर्दछ । नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको फेसबुक पनि अहिले त्यस्तै छ ।

अब यो एकाउन्टमा कसैले लग इन गर्न सक्दैन , तर यसमा कमेन्ट गर्न , यसमा भएका फोटो हेर्न भने सकिन्छ। हाल उनको एकाउन्टमा ४ हजार ६ सय ८८ साथीहरु र ३४ हजार ७ सय ५८ फलोअर रहेको देख्न सकिन्छ । यस एकाउन्टमा भएका साथीहरुको लिस्ट, म्युचल साथीहरुको लिस्ट हेर्न सकिएपनि अब यसमा रिक्वेस्ट भने पठाउन सकिदैन ।

यदि मन्त्री अधिकारीले आफ्नो निधनपछि आफ्नो एकाउन्ट चलाउने अनुमति कसैलाई दिएको भएमात्र फेसबुकले त्यस व्यक्तिलाई यो एकाउन्ट चलाउने अनुमति दिने गर्छ । फेसबुकको सेटिंगमा गएर आफ्नो निधनपछि एकाउन्टलाई के गर्ने भन्ने बारे पहिले नै छनौट गरि फेसबुकलाई जानकारी दिन सकिन्छ ।

मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको हो । दुर्घटनामा मन्त्रि अधिकारीसंगै प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, हेलिकप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरेको पनि निधन भएको छ