१५ फागून
काठमाडौं । जनताले आशा गरेका नेताहरुमध्येका एक मानिने रविन्द्र अधिकारी अब हामीमाझ छैनन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दूर्घटनामा परी उनको ज्यान गएको घटनाले देशवासी धेरै दुखित भएका छन् ।
राजनीतिमा शालिन नेताको रुपमा मानिसको मन मनमा रहेको अधिकारी अत्यन्त मिलनसार र सहयोगी नेताको रुपमा मानिन्छन् । समयले भ्याएसम्म धेरै कार्यक्रममा उपस्थित भईरहने र समय मिलेसम्म कार्यकर्तासँग पनि रमाईरहने अधिकारीको खराब मौसमको कारण हेलिकप्टर दूर्घटनामा ज्यान गएको हो । आफ्नो औपचारिक राजनीतिमा प्रवेश गरेपछि समाज र राज्यलाई उनले धेरै राम्रा र उल्लेखनीय काम गरेर गएका छन् । उनका त्यस्ता कामहरुका कारण उनी आम मानिसमा वर्षाैवर्षसम्म जीवितै रहनेछन् ।
अधिकारीको सबैभन्दा महत्वपूर्ण कामहरुलाई नियाल्दै जाँदा शाही कालमा तत्कालीन युवराज पारसलाई कारबाहीको माग राख्नेदेखि विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट दिनेसम्मको कामको जस अधिकारीलाई नै जाने गरेको छ ।
वि सं २०५७ साउन २२ गते पारसले हाँकेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चलाइरहेका गायक तथा संगीतकार प्रवीण गुरुङ मारिएका थिए । शक्तिमा रहेको दरबारले त्यसबेला नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर, सो घटनामा तत्कालीन युवराज पारस शाह नै दोषी रहेको भन्दै उनलाई कारबाहीको माग गर्दै ५ लाख मानिसको हस्ताक्षर समेत दरबारमा लगेर बुझाएका थिए । त्यस्तै, विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिलाउने कामको श्रेय पनि मन्त्री अधिकारीलाई नै दिईने गरेको छ ।
सानै उमेरदेखि मिलनसार स्वभावका रहको उनी सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने स्वभावका थिए । उनी विद्यालयमा पढ्दादेखि नै अनेरास्वबियु, रेडक्रस, र विभिन्न क्लबहरुमा संलग्न थिए भने विद्यालय जीवनमा उनी जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए ।
पञ्चायती शासन कालमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेको अधिकारीको औपचारिक राजनीतिक सुरुवात पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको हो । उनी २०४४ सालमा क्याम्पस कमिटीको अध्यक्ष भएका थिए । विसं २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भए ।
त्यसैगरी, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित भए ।









