१ फागून

बैंकक : प्रधानमन्त्री पदमा उम्मेद्वारी घोषणा गरेकी थाइल्याण्डकी राजकुमारी उबोल्राताना राजाकन्या सिरिबिधना बर्नाबदीले अयोग्य भएपछि माफी मागेकी छन् ।

यहाँको निर्वाचन आयोगले उनलाई यस पदका लागि अयोग्य भनिदिएपछि उनले मंगलबार सार्वजनिक रुपमा माफी मागेकी हुन् । आगामी महिनामा हुने भनिएको निर्वाचनमा आफ्नो मुलुकका जनतालाई समस्या पर्ने कारण देखाउँदै उनले माफी मागिन् ।

यही साता उनले थाइल्याण्डकै इतिहासाम पहिलो पटक राज परिवारको सदस्य भएर पनि प्रधानमन्त्री पदमा उम्मेद्वारी घोषणा गरेकी थिइन् । निर्वाचन आयोगले भने राज परिवारबाटै प्रधानमन्त्री पदमा उम्मेद्वार बन्नु असंवैधानिक र अस्वभाविक उल्लेख गरेपछि उनले आफ्नो उम्मेद्वारी फिर्ता लिनु परेको हो ।

‘देश र थाइ जनताको पक्षमा काम गर्ने मेरो चाहना हुँदा हुँदै पनि म आफ्नो घोषणामा क्षमा चाहन्छु,’ उबोल्रातानाले भनेकी छन् । उनले आफ्नो मंगलबार इन्स्टाग्राममार्फत यस्तो घोषणा फिर्ता लिँदै माफी मागेकी हुन् ।

आगामी मार्च २४ का लागि थाइल्याण्डमा चुनाव घोषणा गरिएको छ । मिडियाका अनुसार सोही निर्वाचनलाई लक्षित गर्दै उम्मेद्वारी घोषणा गरेकी थाइ राजकुमारीप्रति पछिल्लो समय राजपरिवारकै सदस्यहरु समेत रुष्ट थिए ।