२२ माघ
पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदाम्बेले सरकारलाई सचेत गराउन आन्दोलन गरेको बताएका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आङदाम्बेले काँग्रेसले हिजो गरेको आन्दोलन सरकारको विरोध नभई साँकेतिक र शालिन भएको बताए । वर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भमा कम्युनिष्ट अधिनायकवादी र सर्वसत्तावाद सुरु गर्न लागेको भन्दै काँग्रेसले सरकारलाई सचेत गराउन आन्दोलनमा उत्रिएको बताए ।
सरकारले जनभावना विरोधी कामलाई अगडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको भन्दै सरकार विरुद्ध सडकदेखी सदनसम्म कडा रुपमा प्रस्तुत हुने बताए । सरकारले पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै उक्त निर्णयले काँग्रेसको आत्मसम्मानमा ठेश पुगेको बताए । सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमती विपरित संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर गल्ती गरेको बताए ।
सरकारका गलत कामको काँग्रेसले खबरदारी गर्ने बताउँदै सरकार दुई तिहाई बहुमत र ठूलो पार्टीको घमण्ड बोकेर अघि बढेको र उसले स्वेच्छाचारी रुपमा काम गर्ने उद्धत रहेकोले अब कांग्रेसले सशक्त विपक्षीका रुपमा सरकारको खबरदारी गर्ने विचार व्यक्त गरे । सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट र काम विना प्रचारात्मक र लोकप्रिय बन्ने मात्र शैलीमा आएका र तिनको प्राप्तिका लागि कुनै भरपर्दो आधार नदेखिएको उनले टिप्पणी गरे ।
सरकारले काम थाल्नुभन्दा पनि यो गर्दैछु र उ गरिनेछ भनेर प्रचार मात्र बढी गर्ने गरेको भन्दै आङदाम्बे भने— सरकाले कामलाई ध्यान दिनुभन्दा पनि प्रचारमा बढी रमाएकोले अब प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुनेछ, त्यो हामीले निर्वाह गर्नेछौँ । उनले भने– काँग्रेस अब सम्पूर्ण एकताका साथ अगाढी बढ्छ कसैका तागतले यसलाई नरोक्ने र सैद्धान्तिक बैचारिक योजना र कार्यक्रमको रुपमै काँग्रेसजनताको माझमा जाने कुरामा जोड दिए ।









