१२ माघ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनुषाको सबैला नगरपालिका-४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा आफ्नो लापरबाही नरहेको दावी पारेको छ । दाइजो आएको बाकसले जन्तीको ज्यान लियो ।  प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको  टिनको ट्यांकाले त्यहाँ रहेको ११ केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएर दुःखद् घटना भएको बताए ।

‘समाचारमा आएजस्तो प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ,’उनले भने, करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजका गाडी त्यहाँबाट गएको थियो त्यसमा केही भएन तर करेन्ट लागेको गाडीको छतमा ट्यांका राखिएको र त्यसले नाँगो तारमा छुंदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदैं गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको थियो । घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।