११ माघ

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।संसद बैठकमा कांग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्साशास्त्र विधेयक पारित गरेको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभा मुखले सचेतक पुष्पा भुसाललाई समय दिए । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।दुई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् ।

मन्त्री स्वयंमले सहमतिअनुसार विधेयक आउँछ भनेर प्रतिवद्धता गरेको स्मरण गराउँदै उनले भनिन्, संसदको सम्पत्ति भइरहेको विषयमा इमान्दारिता हुनुपर्छ । भएन भने प्रमुख प्रतिपक्षी दलले त्यसको निगरानी त गर्नै पर्‍यो नि सभामुख महोदय ।’सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदले विरोध जारी राखेका थिए।

सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।