१८ पुस
काठमाडौं । मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको नाम जोड्यो, यसले राजीनिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न गराएको छ ।
सार्वजनिक फोरममा बाइडबडी खरिदमा गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भन्दै आएका मन्त्री अधिकारीले अब सन्यासको बाटो रोज्लान् वा आफूलाई चोख्याउन उच्च तहको दौडधूप बढाउँलान् ? यो प्रश्न आम सर्वसाधारणका लागि चासोको विषय बनेको छ । कात्तिक २५ गते एक मिडियामा अन्तरवार्ता दिँदै बाइडबडी खरिदमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु भनेका मन्त्री अधिकारीको राजनीतिक भविष्य अब के ?
हामीले उपसमितिले अधिकारीलाई पनि दोषी ठहर्याउँदै निकालेको प्रतिवेदनपछि मन्त्री अधिकारीको धारणा बुझ्न खोज्यौँ । तर पटक पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया पाउन सकेनौँ । रवीन्द्र अधिकारी युवाहरूमाझ लोकप्रिय भए पनि पछिल्लो समय प्रभावकारी काम गर्न नसकेको आरोप खेप्दै आएका मन्त्रीमध्येमा पर्छन् । तर उनले पटक–पटक सार्वजनिक कार्यक्रममै वाइडबडी खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको र यदि त्यसो भेटिए आफू राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गर्दै आएका थिए ।

आफ्नै अभिव्यक्ति र उपसमितिको प्रतिवेदनलाई केलाउँदा अधिकारी नैतिक सङ्कटमा परिसकेका छन् । उनले मङ्सिर १० गते पोखरामा आयोजित कार्यक्रममा पनि वाइडबडी विमान खरिद प्रक्रियामा दोषी पाइए जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका थिए । आफै दोषीको दर्जामा रहेको भेटिएपछि उनी आफै कारवाहीको प्रक्रियामा आउनुपर्ने चुनौती बढेको भएको छ । नैतिक सङ्कट परेपछि पर्यटन मन्त्री अधिकारीले आजै राजीनामा दिने मुड बनाएको बिषेश स्रोतको दाबी छ ।
वाइडबडीबारे अध्ययन गर्न लेखा समितिका सदस्य राजेन्द्र केसीको नेतृत्वमा बनेको उपसिमितिको प्रतिवेदनले जहाज खरिद गर्दा ८४ लाख अमेरिकी डलर, लागत अनुमान र खरिद मूल्यमा २३.६ मिलियन अमेरिकी डलर, कबोल गरेको मूल्यमा ६.८ मिलियन अमेरीकी डलर, प्रि–इन्सपेक्सनमा १ करोड घाटा भएको सार्वजनिक गरिसकेको छ । यो हिसावमा हालका डलर सटहीदरलाई आधार मान्दा ४ अर्ब ३५ करोड ५६ लाख नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।









