११ पुस

काठमाडौं । टर्कीमा अलपत्र परेका सयौ नेपाली स्वदेश फर्किएका छन् । टर्कीको आईजीय कम्पनीमा विभिन्न समस्या झेल्दै आईरहेका सयौं नेपाली कामदारहरु नेपाल फर्किएका हुन्। आकर्षक पारिश्रमिकको प्रलोभन देखाई टर्की पुर्याईएका तर वाचा गरे अनुसार सुबिधा नपाएका नेपाली युवाहरु सामुहिक रुपमा दवाव सिर्जना गरेर नेपाल फर्कन सफल भएको पीडित मध्यका एक किरण बान्तवाले जानकारी दिए । उनका अनुसार युरो नेपाल, अवसर म्यानपावर,एच आर म्यानपावर लगायतले त्यस कम्पनीमा कामदार पठाएका थिए ।

उक्त कम्पनीमा ९ सय जना भन्दा बढी नेपालीहरु कार्यरत रहेको र हालसम्म ३ सय नेपाल फर्किएको बान्तवाले बताए । स्काप फोल्डरको काम भनेर उक्त कम्पनीमा पुर्याईए पनि भने अनुरुपको काम नभएको उनको भनाई छ । सुरुमा ५ सय अमेरिकी डलर मासिक तलब भने पनि ३ सय ७५ डलर मात्र दिएको बान्तवाले दुखेसो पोखे । म्यानपावरलाई ३ लाख रुपैयाँ तिरेर टर्की गएको उनी बताउँछन् । उक्त कम्पनीमा जाने अन्य कामदारले पनि साढे डेढ लाखदेखि देखि साढे ३ लाख सम्म बुझाएको उनीहरु बताउँछन् ।