२८ मंसीर
पर्वत : गाउँमा उत्पादन गरिएका बिभिन्न २३ प्रकारका कृषिजन्य उत्पादनमा कर लगाउँदा बिबादमा आएको पर्वतको फलेवास नगरपालिकाले फेरि अर्को बिबादित निर्णय गरेको छ। यस अगाडि गाउँका कृषकले बोका, बाख्रा, भैँसी, राँगालगायतको कारोबार गर्दा समेत कर लगाएको फलेवास नगरपालिकाले अहिले फेरि नगरभित्रका सबै कच्ची घरको नक्सा बनाएर नगरपालिकाबाट पास गराउनुपर्ने निर्णय गरेको छ।
नगरपालिकाको आन्तरिक आम्दानी बलियो बनाउने नाममा नगरपालिकाले यस अगाडि बनिसकेका र अब बन्ने सबै घरको नक्सा इञ्जिनियरमार्फत बनाउनुपर्ने र नगरपालिकाबाट पास गर्नुपर्ने नियम ल्याइएको हो। नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिका स्थापना हुनु अघि नै निर्माण भएका कच्ची र पक्की दुवै घरको समेत नक्सा नियमित गर्नुपर्ने भएको छ।
यसअनुसार नगरपालिकाका ११ वटै वडाका कच्ची घरको समेत इन्जिनियरमार्फत नक्सा बनाएर घर नियमित गर्नुपर्ने छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाद्बारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नगरपालिका स्थापना हुनुभन्दा अगाडि निर्माण भएका कच्ची तथा पक्की घर नक्सा नियमित गर्नुपर्ने भनी फलेवास नगरकार्यपालिकाबाट निर्णय भएकाले नगरपालिकाभित्र निर्माण भएका घर-नक्सा असार मसान्तसम्म नियमित गर्न सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
नगरपालिकाले नयाँ बन्ने पक्की घरहरूलाई भने नक्सा विना निर्माण गर्न नदिने यस अघि नै निर्णय गरेको छ। नगरपालिकाले आन्तरिक आम्दानी बृद्धि गर्नका लागि गरेको यो निर्णयबाट भने नगरपालिकाबासी खुशी हुन सकेका छैनन्।
ग्रामीण वडाहरूबाट नगरपालिका बनेको फलेवासका लगभग सबैजसो घरहरू कच्ची छन्। ती कच्ची घरहरू इञ्जिनियरले बनाएको नक्साबिना नै निर्माण गरिएका छन्। फलेवास नगरपालिकाभित्र कुल ५७०० घरहरू रहेकामध्ये झण्डै २०० घर पक्की रहेका छन्। नगरपालिकाअन्तर्गत ११ पाङराङकी कृषक देवी पौडेल भन्छिन्,‘घरमा लगाएको खुर्सानीको कर त तिराउन तयार हुने नगरपालिकाले कच्ची घरमा कर लगाउनु त सामान्य भयो।’ उनले थपिन,‘संघीयता आएर सुख होला भनेको त कर तिर्न पो आएको रहेछ। संघीयताको अर्थ बल्ल पो बुझियो।’ कच्ची घरको समेत नक्सा बनाएर नगरपालिकालाई दस्तुर दिँदा खर्च धेरै लाग्ने भन्दै स्थानीयले भने नगरपालिकाको यो निर्णयको चर्को बिरोध गरेका छन्।
निर्माण सम्पन्न भएका कच्ची घरहरूलाई समेत करको दायरामा ल्याउन लागेपछि नगरबासीले नगरपालिकाले आम्दानी बढाउने नाममा नागरिकलाई सास्ती दिएको बताएका छन्। नगरपालिकाले आम्दानी गर्ने नाममा बनिसकेका पुराना घरको समेत नक्सा बनाउनुपर्ने मापदण्ड ल्याउनु नगरपालिकाले नागरिकलाई सुविधा दिनुको सट्टा झनै दुःख दिएको नगरबासीको प्रतिक्रिया छ।









