१२ मंसीर

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताए । नेताहरूको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उनले बताए ।
प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरूको एकतालगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो ।

नेकपाका एक नेताका अनुसार सोमबार बस्ने बैठक मंगलबार सारियो तर मंगलबारसमेत बैठक नहुनुको मुख्य कारण नेताहरूबीचको विवाद नै हो । विवाद समाधान गरी टुंगोमा पुग्नेगरी छलफल गरेर बैठक बोलाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको उनले बताए ।
पार्टीको केन्द्रीय कमिटी बैठक बस्न नसकेको बताउँदै यसअघि स्थायी कमिटी बैठकसमेत स्थगित भएको उनले बताए । पार्टी एकता तथा सरकार सञ्चालनको महŒवपूर्ण समयमा पार्टी बैठक नगरी स्वेच्छाचारी रूपमा अघि बढ्ने काम भएको उनले आरोप लगाए ।
योग्यता, क्षमता, कार्यशैली, ज्येष्ठतालगायतका मापदण्ड एवं विधिपूर्ण तरिकाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नुपर्ने भएकाले ढिलाइ हुन गएको नेकपा स्रोतले जनाएको छ । यसैगरी, पोलिटब्युरो गठन पहिला कि केन्द्रीय सदस्यको कार्यविभाजन पहिला भन्ने विषयमा समेत विवाद रहेको छ ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहकार्य नपुगेपछि बैठक स्थगित भएको बताए । अब बस्ने बैठकमा प्रदेश कमिटीलाई पूर्णता दिनुका साथै स्थायी कमिटी एवं केन्द्रीय सदस्यहरूको कार्यविभाजनको टुंगो लगाउने एजेन्डा रहेको उनले बताए ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, खनाल एवं सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिला पोलिटब्युरो कमिटी गठन गरेर नेताहरूको कार्यविभाजन गर्नुपर्ने यसअघिको बैठकमा मत राखे पनि बैठकले पहिला कार्यविभाज गरेर मात्रै पोलिटब्युरो कमिटी चयन गर्ने बताइएको छ ।