८ मंसीर
पर्वत /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको सेतीबेणी देखि डाँडैडाडा पोखरा सम्म पक्की सडकमा पु-याउने लक्ष्य सहित काम शुरु भएको बताएका छन ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविमा १८ महीने बाली विज्ञान कक्षा शुभारम्भ तथा कम्प्युटर कक्ष हस्तान्तरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम अघि बढेकोले सेतीबेणी देखि पोखरा पक्की सडकमा छिट्टै पुग्न सकिने बताएका हुन ।
गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा परेको र अहिले बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) निर्माणको काम यसैबर्ष शुरु हुने अध्यक्ष तिमिल्सीनाले बताए । ‘डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना हो’ उनले भने ‘यसपटक राष्ट्रिय योजनामा समावेश गरि कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु-याउने योजनाले मुर्त रुप दिनेछौ’
सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने अध्यक्ष तिमिल्सीनाको भनाई छ । अहिले सेतीबेणी देखि पर्वतको लुंखु, आर्थर, राम्जा हुँदै पोखरा सम्म कच्ची सडकले जोडिएको छ । ‘अबको बजेट स्तरउन्नती र कालोपत्रेका लागि काम हुनेछ’ उनले भने । उक्त सडकमा साइकल लेन समेत निर्माण गरि पोखरा देखि पर्यटक ल्याउन सकिने योजना पनि सुनाए । यो सडक तिमिल्सीना जिबिस पर्वतको सभापति हुँदा शुरु भएको हो ।
नवलपरासीको त्रिबेणी देखि सेतीबेणी हुँदै पर्वतको कुस्मा र म्याग्दीको बेनी जोड्ने सडक पनि राष्ट्रिय राजमार्गको रुपमा डिपीआर बनाउने काम शुरु हुने पनि तिमिल्सीनाले जानकारी दिए । पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग सहित ३ वटा राष्ट्रिय राजमार्ग बनेपछि जिल्लाको बिकासमा ठुलो परिर्वतन आउने बताए । भित्री सडकहरु प्रदेश र स्थानिय तह तथा सडक आयोजनाबाट कालोपत्रे गरि पर्वतका मुख्य सडक कालोपत्रे हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य सरकारको कामलाई चनाचटपट खाए जस्तो भर्खर परिणाम नखोज्न आग्रह गर्दै पाँच बर्षभित्र काम हुने गरि दिगो बिकासको आधार तयार पारिएको बताए । जनताको अपेक्षा अनुसार काम गर्न नसके आगामी दिनमा माफी पाउन नसक्ने भएकाले त्यसै अनुसार काम हुने बिश्वास उनले दिलाए । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले आगामी पाँच बर्ष भित्र पर्वत जिल्ला पुर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन बिकासका हिसाबले धेरै अगाडी बढ्ने बताए ।
्कार्यक्रममा महासिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, बिद्यालयमा कम्प्युटर सहितका पुर्वाधार सहयोग गर्ने नारायण अधिकारी, नेकपा पर्वतका संयन्त्र सदस्य भक्त कुवँर, नेपाली कांग्रेसका जिल्ला सदस्य अशोक उचैं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्री, वडा नं ५ का अध्यक्ष तथा प्रबत्ता जीवन उँचै ठकुरी, बिद्यालय ब्यबस्थापन समितिका सदस्य पुष्प पौडेल, प्रअ गोपाल अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।









