७ मंसीर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन् ।
अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले यस्तो चेतावानी दिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की समेत दिएका जनाइएको छ ।
आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताएका छन् ।
मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उनको चेतावनी छ ।
ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् ।
स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ ।
यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गरेका जनाएका थिए । आप्रवासीलाई कुनैपनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्ध समेत अमेरिकाले चाहेको समयसम्मका लागि बन्द गरिदिने उनले बताए । –एजन्सी









