३ मंसीर
अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने भएको छ ।
उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन प्रस्ताव राखेको बताइएको छ । युवतीले प्रस्ताव अस्वीकार गरेपछि इङनमले युवतीमाथि दुर्व्यवहार गरेका बताइएको छ ।
अस्ट्रेलियाको साउथ पोर्ट म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवार्इमा उनलार्इ दुर्इ मुद्दामा दोषी ठहर गरिएको छ । राजेन्द्र सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए ।
पीडित युवतीले अदालतमा बयान दिने क्रममा ड्राइभरको उक्त हर्कतबाट आफू अत्यन्तै विचलित भएको अझै त्यो सम्झेर रुने गरेको बताएकी थिइन् । राजेन्द्रका पक्षबाट मुद्दा लडेका वकिल निक म्याकघीले भने त्यो सामान्य दुर्व्यवहार मात्रै भएको तर्क गरेका थिए ।
यही दुर्व्यवहारको अभियोग लागेपछि राजेन्द्रको ९ वर्षे विवाह सम्बन्ध पनि टुटेको बताइएको छ । युवतीका तर्फबाट मुद्दा लडेकी अमालिया बेकर स्मिथले भने राजेन्द्रलार्इ एक वर्ष जेल सजायको माग गरेकी थिइन् ।
अदालतले उनलार्इ १ वर्ष जेल सजाय समेत सुनाएको छ । तर राजेन्द्रलार्इ नेपाल डिपोर्ट गरिने हुँदा उनले जेलमा भने बस्न नपर्ने बताइएको छ । स्मिथले उबर ट्याक्सी डाइभर प्रति महिलाहरू विश्वस्त हुनुपर्ने बताएकी थिइन् ।
आफ्नो फैसला सुनाउँदै म्याजिस्ट्रेट जोन ह्वाइटले युवतीले राजेन्द्रमाथि विश्वास गरे पनि राजेन्द्रले गरेको दुर्व्यवहारले उनी प्रतिको विश्वास टुटेको बताउँदै उनलार्इ डिपोर्ट गर्ने निर्णय सुनाएका थिए ।








