२ मंसिर

वीरगन्ज । पर्साको वीरगन्जकी ४० वर्षीया दलित महिला सामूहिक बलात्कारमा परेकी छन् । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेका थिए । उनीहरूले त्यसको भिडियोसमेत बनाएका थिए ।

वीरगन्ज महानगरपालिका १८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देखाई रकम मागेर धम्क्याएको घटना खुलासा भएको छ ।

राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ वर्षीय आकाश साहले मोबाइलमा भिडियो खिचेका थिए ।

त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए ।

पीडित महिलाका अनुसार २ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए ।

पीडितले रकम दिन मानिनन् । आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गाँउमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन् ।

गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी छन् ।

उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन । प्रहरीले आरोपित पक्रन चासो नदेखाएपछि गाँउका अगुवा महिलाहरूको मद्दतमा पीडितले शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो ।

सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए ।

घटना थाहा पाएपछि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले पनि आरोपितमाथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए । वडाध्यक्ष कुर्मीले पनि दलित महिलामाथि भएको जघन्य अपराधमा संलग्नमाथि कारवाही हुनै पर्ने बताए ।