२८ कार्तिक
पर्वतको फलेवास नगरपालिका–११ पाङराङमा अवस्थित कर्नाश प्राथमिक विद्यालयका विद्यार्थीले स्कुल पोषक र शैक्षिक सामग्री पाएका छन् । पर्वत सेवा समाज नेपालले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोषक, कापी–कलम, किताब, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।
नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । आर्थिक समस्याका कारण वर्षेनी सयौं बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ । पोषक तथा शैक्षिक सामग्री पाएपछि स्थानीय विद्यार्थीहरु खुशी भएका थिए । संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यस पर्वत सेवा समाज नेपालले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । सेवा समाज नेपालकी अध्यक्ष मुना भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष भुषालले पढ्न पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै आर्थिक अभावकै कारण कुनैपनि बालबालिका शिक्षाबाट बन्चित हुन नदिने बताउनु भयो । साथै उहाँले आगामी दिनहरुमा पनि आफ्नो संस्थाले यस्ता कार्यहरुलाई सक्रियताका साथ अगडी बढाउने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौत्तमले संस्थाको कार्यलाई प्रशंशा गर्दै संस्थाले विधालयका बालबालिकाहरुलाई गरेको सहयोग प्रती आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा फलेवास नगरपालिका–११ पाङराङका वडा सदस्य टेकवहादुर पाठक, टोल सुधार समितिका अध्यक्ष भोजराज उप्रेती, बिद्यालय ब्याबस्थापन समितिका पुर्ब अध्यक्ष क्षेत्रबहादुर पाठक, पर्वत सेवा समाज नेपालका सचिव थमनारायण पौडेल लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्थानीय युवा सन्तोष पाठकले गर्नुभएको थियो ।








