१६ कार्तिक
बागलुङमा तीन दिन सम्म नेपाल सम्बत मनाइने भएको छ । विहिबार पत्रकार सम्मेलन गरी नेपाल भाषा मंका, खलले उक्त जानकारी दिएको हो । विशेष गरी नेवारी समुदायले मनाउने गरेको नेपाल सम्बतको नयाँ बर्ष ११३९ को अबसरमा नेपाल भाषा मंका खलले शुभकामना आदानप्रदान कार्यक्रम, भिन्तुना ¥याली र मूल समारोहको आयोजना गरी मनाउन लागेको संस्थाका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिए ।
विगतका बर्षहरुमा झै यस बर्ष पनि बागलुङमा रहेका नेवारी समुदायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी नेपाल सम्बत् ११३९ मनाउने तयारी गरेका छन् ।नेवारी समुदायहरुको भाषा, भेषभुषा, संस्कृतिको पहिचान झल्किने गरी कार्यक्रमको आयोजना गरेको संस्थाले जनाएको छ । बागलुङमा रहेका विभिन्न नेवारी समुदायका संस्थाहरुले एकै ठाउँमा नेपाल सम्बत् मनाउने तयारी गरेका हुन् । कार्यक्रमलाई सफल तुल्याउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
तीन दिन कार्यक्रम
बागलुङमा नेपाल संम्बत् तीन दिन मनाइने भएको छ । बागलुङमा रहेका विभिन्न नेवारी संघसंस्थाहरुले तीन दिन सम्म नेपाल सम्बत् मनाउने गरी कार्यक्रम तय गरेका छन् । जस अन्तरगत कात्तिक १८ गते विहान ८ बजे शुभकामना आदान प्रदान कार्यक्रम तय गरिएको छ । कात्तिक २१ गते विहान ७ बजे बागलुङ जेसीजको संयोजनमा भिन्तुना ¥याली निकाल्ने तयारी छ भने कात्र्तिक २२ गते विहान ११ बजे मूल समारोहको आयोजना गरी शुभकामना आदानप्रदान तथा नेवारी समुदायको भाषा, संस्कृति, भेषभुषाको प्रदर्शनी गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले बताए ।
मूल आयोजक समिति गठन
विभिन्न उप संयोजक रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । नेपाल सम्बतलाई भव्य रुपमा सम्पन्न गर्न बागलुङमा रहेका विभिन्न नेवारी संघसंस्थाहरु एक भएर जुटेका छन् । नेवा ल्याम्ह पुजका अध्यक्ष जय राजभण्डारी, नेवा मिसा दबुका अध्यक्ष लक्ष्मी शाक्य, ज्ञानोदय बुद्ग बागलुङका अध्यक्ष विकास शाक्य, नेवा मुक्ति मोर्चा बागलुङका अध्यक्ष बिन्दुसागर राजभण्डारी र शंखधर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रतन प्रसाद मलेपती उपसंयोजक र नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारी संयोजक रहनेगरी मूल आयोजक समिति गठन गरिएको छ ।
डेढ लाख खर्चको अनुमान
नेपाल सम्बत ११३९ मनाउनको लागि झण्डै एक लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । न्हू दँ ११३९ मूल आयोजक समितिले तीन दिनसम्म मनाइने उक्त कार्यक्रमको लागि डेढ लाख खर्च लाग्ने अनुमान गरेको छ ।
कसरी शुरु भयो नेपाल सम्वत् ?
उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना“ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो (आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुर्ना याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ ।
१२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ । नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।








