१३ कार्तिक

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट पार्टी सरकारमा रहेका बेला कार्यकर्ताको हातमा बन्दुक कहाँबाट पुग्दैछ ? भन्ने प्रश्न गरेका छन् ।  सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका कार्यकर्ता रामविलास महतो मारिएको घटनापछि प्रवक्ता शर्माले यस्तो प्रश्न गरेका हुन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा हेलो सरकारलाई मेनसन गर्दै,  ‘रोल्पामा रोहित पुनपछी सर्लाहीमा आज अर्का कांग्रेस कार्यकर्ता रामविलास महतो मारिएको घटनाको तिब्र विरोध गर्दछु ! सशस्त्र द्वन्द्वका बेला अलग कुरा थियो । तर, कम्युनिस्ट पार्टी सरकारमा रहेका बेला कार्यकर्ताको हातमा बन्दुक कहाँबाट पुग्दैछ ? हेलो सरकार  यो ग्रेडको शान्तिसुरक्षा ?’ लेखेका छन् ।

बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एक्कासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउँदा  वडा नं. ४ का वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको थियो ।

उक्त घटनामा एकै वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागेको छ । यस्तै घाइते लिन गएको एम्बुलेन्स समेत उनीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।