१० कार्तिक
काभ्रे – काभ्रेमा शनिबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ।
बा३च २८७ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत थिए। उनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याचमेट हुन्।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको हो। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरीका पूर्व डिएसपी बिनोद गौतम, सिताराम हुमागाईं र प्रदिप बोगटी गम्भीर घाइते बनेका छन्।
घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ। घटनास्थल धुलिखेलबाट ३० किलोमिटर उत्तरमा पर्छ।








