५ कार्तिक
पर्वतरविजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा हिजो खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नेतृत्वको अदूरदर्शिताका कारण केन्द्र र जिल्लामा कांग्रेसको संगठन निकै कमजोर भएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनीहरूले काँग्रेस भावनात्मक रूपमा एक भएर संगठन सुदृढिकरण अभियानमा लाग्न नेतृत्वलाई सुझाव समेत दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गाउँगाउँमा काँग्रेस पराजित मानसिकतामा बाँचिरहेको वताउँदै एउटा निर्वाचन हार्दैमा मनोबल कमजोर बनाउन जरूरी नरहेको धारणा राख्नुभयो । नेता जोशीले चुनाब जितेको एकबर्ष नपुग्दै प्रधानमन्त्रीओलीको बोली फेरिएको वताउँदै जनतामा भ्रमको खेती गरेर प्राप्त गरेको सत्ता नेकपालाई घाँडो भएको दावी गर्नुभयो । उहाँले चुनाबअघि नेकपाका नेताहरूले रेल ल्याउने, नदीहरूमा पानीजहाज चलाउने, हावाबाट बिजुली निकाल्नेस वृद्धहरूलाई पाँचहजार घरघरमै ल्याएर वितरण गर्ने आश्वासनको आज आफ्नै कार्यकर्ताहरूबाट आलोचना शुरू भएको दावी गर्नुभयो । नेता जोशीले केपी ओलीको सत्ता अतिवादका कारण कम्युनिष्टहरू बिभाजनतर्फ उन्मुख भएको वताउँदै कम्युनिष्ट पार्टीमा ओली अतिबाद बढ्दै गर्दा हामी एक भयौंभने र आफ्नो घर बलियो बनाऔं र सांगठनिक अनुशासनमा बस्यौ भनेमात्र काँग्रेस फेरि पहिलो पार्टी हुने विस्वास व्यक्त गर्नुभयो । केन्द्रीय सदस्य जोशीले खुर्कोटसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको वताउँदै यहाँ आउँदा कहिल्यै पनि नेता भएर नआएको जानाकारी दिनुभयो । नेता जोशीले खुर्कोट भूमि र खुर्कोटबासी आफ्नालागि सँधै प्रिय रहेको धारणा राख्नुभयो । नेता जोशीले आफूले पदीय राजनीति नगरेपनि काँग्रेसका कार्यकर्ताहरूको संरक्षण गर्न र संगठन बलियो बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङले काँग्रेसलाई सुधार्ने हो भने केन्द्रदेखि वडातहसम्म नेतृत्व गर्ने सबैले आफूबाटै सुधारको सुरूवात गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गुरूङले एकले अर्कालाई दोषारोपण गरेर र अरूलाई हिलो छ्यापेर काँग्रेसको संगठन नबन्ने दावी गर्दै पूर्ण निष्ठा र ईमान्दारिताका साथ आत्मआलोचना गरेर अनुशासनपूर्वक काम गरे काँग्रेस बलियो पार्टी बन्ने ठोकुवा गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरूङले काँग्रेस आफ्नै कारणले चुनाबमा पराजित भएको वताउँदै अब आफैले आफैलाई हराउने प्रवृत्तिको अन्त्य हुन जरूरी रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख तथा नेका नगर सभापति रामचन्द्र जोशीले नेपाली काँग्रेसको गौरवशाली इतिहास हुँदाहुँदै पनि आफ्नो इतिहास र योगदानको वारेमा जनतालाई बुझाउन नसक्दा काँग्रेस कमजोर भएको दावी गर्नुभयो । त्यसैगरि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको वताउँदै सबै काँग्रेस विधि पद्दति र अनुशासनभित्र रहेर काम गरे पाँचबर्षमा काँग्रेस फेरि पहिलो पार्टी बन्ने विस्वास व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार गुण्डा र तस्करहरूको संरक्षक भएको वताउँदै ओली सरकारले संस्थागत अपराध गरेको दावी गर्नुभयो । गुरूङले चुनाबअघि शेरबहादुर देउवाले भन्ने गरेको कम्युनिष्टले जितेपछि रूनपनि पाईंदैन भन्ने कुराले सार्थकता पाउँदै गएको वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्तबहादुर सिके, प्रदेशसभा सदस्य ललितकला गुरूङ, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य लेखबहादुर गुरूङ, जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद उपाध्यायस कुनपा ८ चुवाका वडाअध्यक्ष राजकुमार क्षेत्री, कुनपा ५ का वडाअध्यक्ष चित्रकला शर्मा, नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला कार्यसमिति सदस्य गुप्तनिधि शर्मी, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, शुभकामना आदानप्रदान कार्यक्रमका प्रचार समिति संयोजक कल्याण सुवेदी, नेपाल शिक्षक संघ पर्वतका सचिव यज्ञनाथ बास्तोला, डिएलए नेपालका पूर्व महासचिव लिलामणि पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेशबहादुर क्षेत्री, नेपाली काँग्रेस कुनपा १ पाङका पूर्व सभापति हेम शर्मा पौडेल, बगैंचा युवा क्लवका अध्यक्ष सन्तोष विक लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस कुनपा २ खुर्कोटका वडासंयोजक कालीभक्त शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस खुर्कोटका सहसंयोजक छत्रराज रेग्मीले,धन्यवाद मन्तव्य वडा नं २ का वडा अध्यक्ष यदूनाथ वास्तोलाले गर्नुभएको थियो। कार्यक्रमको संचालन नेपाली कांग्रेस वडा नं २ का वडा समन्वय समितिका सचिव देविप्रसाद रेग्मीले गर्नुभएको थियो ।








