२२ असोज

नेपालगन्ज  । बाँकेका एक पत्रकार बलात्कारको आरोपमा कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकेले पत्रकार दिक्षितलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

अदालतका न्यायाधीश रमानाथ पौडेलको ईजलासले दिक्षितलाई पुर्पक्षका लागि आइतबार कारागार चलान गर्न आदेश दिएको थियो । आफुलाई विवाह गर्ने प्रलोभन देखाएर विगत डेढ वर्षदेखी बलात्कार गर्दै आएको भन्दै एक युवतीले दिक्षित विरुद्ध असोज पहिलो हप्तातिर जिल्ला प्रहरी कार्यालय समक्ष जाहेरी दर्ता गराएकी थिईन् ।

 बलात्कार आरोपमा दिक्षितमाथी किटानी जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया स्थायी घर भएका पत्रकार दिक्षित नेपालगन्जको एक दैनिक पत्रिकाको समाचार प्रमुख हुन् ।

पत्रकार महासंघ बाँकेको साधारण सदस्य समेत रहेका उनी नेपालगन्जको फुलटेक्रामा बस्दै आएका छन् । उनको सदस्यता निलम्बन गर्नुको साटो पत्रकार महासंघ बाँकेका पदाधिकारीले उल्टै संरक्षण गरिरहेको पत्रकारहरु बताउँछन् । महासंघले बलात्कारीलाई संरक्षण गरेको भन्दै बाँकेका पत्रकार विभाजित नै भएका छन् ।

विवाहित दिक्षितले सुरुदेखी नै विवाह गर्ने प्रलोभन देखाउँदै गत साउनको अन्तिमसम्म बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।