संजय रेग्मी
पर्वत ः नेपालीहरुको ठूला चाड दशैँ र तिहार नजिकिएसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बजारभित्र र बाहिरका बिभिन्न स्थानहरुमा कडा निगरानी शुरु गरेको छ । चाडबाडको समयमा यात्रीहरुको भीड बढुनाका साथै खाद्यान्न र अन्य सामग्रीको पनि ढुवानी बढीरहेको बेलामा पर्वत ट्राफिक बढी सवारी चापका कारण दुर्घटना हुन सक्ने भन्दै आप्mनो निगरानीलाई बढाएको हो । चाडपर्वको समयमा कार्ययोजना निर्माण गरेरै अगाडि बढीरहेको ट्राफिक प्रहरीले बजार क्षेत्रबाहेक ग्रामिण क्षेत्रका बिभिन्न ठाउँमा पुगेर पनि सवारी चेक जाँच तथा छड्के अनुगमन गर्न शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुखम महेन्द्र रानाभाटका अनुसार प्रहरीले कटुवाचौपारी फलेवास, शंकरपोखरी, पकुवा लगायतका ग्रामिण क्षेत्रमा पुगेर ती क्षेत्रहरुमा चल्ने सवारी साधनको अवस्था, सवारी तथा सवारी चालकका कागजपत्र लगायतका बिषयमा चेकजाँच गरिरहेको छ । यात्रुहरुलाई सहज यात्रा गराउन खटीरहेको पर्वत ट्राफिकले मध्यपहाडी लोकमार्ग बिस्तारका क्रममा हुन सक्ने सवारी जाममा पनि बिशेष निगरानी गरेको थियो । सडक जाममा पर्दा यात्रुहरुलाई कठिन हुने गरेको भन्दै ट्राफिक प्रहरीले बाटोका काम गर्ने बेलामा दैनिक रुपमा ७ घण्टा बन्द हुने गरेको बाटो समेत बीचबीचमा खुलाएर यात्रीहरुलाई वारपार गराउँदै आएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी चेक जाँच र ट्राफिक व्यवस्थापनमा कुनै पनि कसुर बाँकी नराख्ने बताएको छ । जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जिल्लाका सात स्थानीय तहका केन्द्रसम्म सवारी व्यवस्थापन चुस्त दुरुस्त पार्दै आएको जानकारी दिनुभयो ।









