१९ असोज
ललितपुर । एक १२ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएकी छिन् । ललितपुरको महांकाल गाउँपालिकामा २३–२४ वर्षका बब्लु भनिने ग्रीलको काम गर्दै आएको उक्त युवकबाट बालिका बलात्कृत हुनबाट जोगिएकी हुन् ।
राति बलात्कार गर्न बालिकाको कोठामा पुगेको उक्त युवकलाई बालिकाका अभिभावकले थाहा पाएर नियन्त्रणमा लिई बिहीबार बिहान ३ बजे इलाका प्रहरी कार्यालयमा ल्याएर बुझाएका थिए ।
उक्त युवकलाई कार्वाही गर्न माग गर्दै स्थानीयहरु प्रहरी कार्यालयमा आउँदा अभियुक्तलाई नै प्रहरीले भगाएको स्थानीय शिक्षक मनोज कुमार पराजुलीले बताए ।
उनले भने, ‘अपराधीलाई कार्वाही होस् भनी दवाव दिन गाउँलेहरु आएका थिए तर प्रहरीले नै अपराधीलाई भगायो ।’
ठूलो संख्यामा आएका गाउँलेहरुले अभियुक्तलाई कार्वाही गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।
तर डिएसपी राजकुमार कोइजुले भने गाउँलेहरुले प्रहरीमाथि नै आक्रमण गर्ने खतरा भएकाले सुरक्षित हुन खोजेको बताए । उनले हाम्राकुरासंग भने, ‘स्थिति के भयो भन्नेकुरा त्यहीं हुनेलाई थाहा हुन्छ, गाउँलेबाट प्रहरी नै असुरक्षित थिए ।’
स्थिति तनावपूर्ण भएपछि थप सुरक्षित मगाउनु परेको थियो ।
उनले भने, ‘यता हामीले गाउँलेहरुलाई सम्झाउँदै थियौं, अभियुक्त त्यही मौकामा भागेछ ।’
स्थानीयले त प्रहरीले भगाएको आरोप लगाएका छन् त ? भन्ने जिज्ञासामा डिएसपी कोइजुले भने, ‘हिजोको परिस्थिति बेग्लै थियो, आफ्नै नियन्त्रणमा भएको अभियुक्तलाई कसैले भगाउँछ ?’
आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए । डिएसपी कोइजुले स्थानीय र प्रहरी कोही पनि घाइते नभएको र हातपात नभएको बताए ।हाम्राकूरावाट









