१७ असोज
पर्वत । आफ्नै घरमा मृत अवस्थामा भेटिएकी पर्वतको कुस्मा नगरपालिका वडा नं ७ खरेहाकी बबिता गौतमका परिवारका सदस्यहरु धरौटीमा छुटेका छन ।
पर्वत जिल्ला अदालतले मृतक बबिताका श्रीमान सहित परिवारका चार सदस्यलाई एक एक लाख धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गएको भदौ ५ गते आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी गौतमको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी दिएपछि कर्तब्य ज्यानमा मुद्दा चलेको थियो ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको आदेशले मृतकका श्रीमान कृष्णप्रसाद गौतम, उनका ससुरा इमनाथ गौतम, सासु बिष्णु शर्मा र नन्द लक्ष्मी गौतमले जनही एक एक लाख धरौटी तिरेर छुटेका छन ।मृतक बबिता र कृष्णका बिचमा गएको असार ७ गतेबिबाह भएको थियो ।
बिबाह भएको दुई महिना नपुग्दै मृत फेला परेपछि श्रीमान कृष्ण र परिवारका सदस्यहरुले कर्तब्य गरेर मारेको आरोप माइतीपक्षले लगाएका थिए । मृतकका श्रीमान रोजगारीका लागि कोरियाबाट फर्केका थिए । मृतक बबिताको माइती कुस्मा नगरपालिका १३ खौलामा पर्छ ।









