१५ असोज

काठमाडौं । अमेरिकाको भ्रमण सकेर कोस्टारिकातिर लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा भेटिन १२ वर्ष पनि लाग्न सक्छ भनेका छन् ।

अमेरिका गएर पनि प्रधानमन्त्री ओली संयमित भएनन् । उनले त्यहाँ पुगेर पनि रक्षात्मक अभिव्यक्ति जारी राखेका छन् ।
राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता वर्षौ लाग्न सक्छ, भने । त्यो पनि १२ वर्ष ।

अमेरिकामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले निर्मला हत्याका दोषी जतिनै सुकै ढिलो भएपनि पत्ता लाग्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले बलात्कार र हत्या जस्ता जघन्य अपराधमा अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ,  भने ।
अनुसन्धानका जानकार भने प्रहरीले चाहे धेरै खालका समिति नै नचाहिने र एक जनाले पनि अनुसन्धान गर्न सक्ने तर्क गरिरहेका छन् ।

प्रहरी मेरो साथी भनेर अभियाननै चलेको विर्सदै प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन, कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन ।’ यसको अर्थ प्रधानमन्त्री ओलीले निर्मलाका आमा बुबालाई दिएको आश्वासन  झुठा त थिएन ?

कुनै–कुनै ठाउँमा घटनामा संलग्नलाई ढाकछोप गर्न प्रयास हुनेगरेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोही–कोही ठाउँमा हुन सक्छ, कसैको संगग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन् ।’ केही दिन अघि एक पूर्व प्रहरी प्रमुखले सबै अनुसन्धान सफल हुँदैनन् भन्ने भनाइसँग प्रधानमन्त्रीको भनाई मिल्न गएको छ ।

ओलीले फेरि पनि भने, ‘कहिले–कहिले १२ वर्ष पछि पनि पत्ता लाग्दोरहेनछ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिशत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।’