१४ असोज
पर्वत,पर्वतको धार्मिक एवं पर्यटकिय क्षेत्रको विकासका लागि गैह्र आवासिय नेपाली संघ (एनआरएनए ) ले चासो दिएको छ । गैह्र आवासिय नेपाली संघले मोदीबेनीलाई आवश्यक सहयोग गर्ने जनाएको हो । शनिवार मोदीबेनीमा पुगेका गैह्र आवासिय नेपाली संघ (एनआरएनए ) का केन्द्रिय सल्लाहाकार गोबिन्दप्रसाद सुबेदीले मोदीबेनीमा आवश्यक विकासका लागि परियोजना प्रस्ताव गर्न आग्रह गर्नुभएको छ ।
उहाँले अध्यक्ष भवन भट्ट सहितको टोली दशैँभित्र आउन लागेको त्यहि बेला विकासको खाका पेश गर्न मोदीबेनी क्षेत्र संग सम्बन्धित नृसिँह मन्दिर संरक्षण समिति तथा धार्मिक पर्यटकिय विकास समितिका पदाधिकारीलाई सुझाव दिनुभयो । कुश्मा नगरपालिका संग सहकार्य गरि प्रपोजल पेश गर्न सुबेदीले आग्रह गर्नुभयो । विगतमा पनि सहयोग गरेको स्मरण गर्दै उहाँले अन्तराष्ट्रिय पर्वत समाज सहित अन्य संस्थाहरु संग पनि सहकार्य गर्न सुझाव दिनुभयो ।
‘मरेपछि हामी यहिँवाट विदा हुने हो,’ सुबेदीले भन्नुभयो,‘ मोदीबेनीको विकासका लागि हामीले जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ ।’ उहाँले वृद्धाश्रमलाई स्तरउन्नती गर्न सहयोग गर्ने ईच्छा प्रकट गर्नुभयो । ‘बुढेसकालमा हामी पनि यहिँ आएर आश्रय लिनुपर्छ,’ उहाँले भन्नुभयो,‘ हाम्रा पुस्ताहरुले संझने काम गर्न एनआरएनएले सहयोग गर्छ ।’ सुबेदीले मोदीबेनीमै पुगेर सरोकारवाला संग अन्तरक्रिया गर्नुभएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगरपालिकाले आफु संग भएको स्रोतवाट सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले मोदीबेनीलाई नगरपालिकाको सम्पत्तीको रुपमा लिएर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उहाँले मोदीवेनीको विकासका लागि सबै एक जुट हुनुपर्ने बताउनु भयो । उहाँले मोदीवेणी क्षेत्रमा राज्यको ध्यान पुग्न नसकेका कारण ओझेलमा परेको बताउँदै यसको विकासका लागि आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी कृष्ण लम्सालले मोदीवेणी धामको बृहत विकासका लागि राज्यले ध्यान नदिएको गुनासो गर्नुभयो । विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न लम्सालले अपिल गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक श्रामका अध्यक्ष कमल जिसीले मोदी वेणी सँगै आश्रमको अवस्थाका बारेमा संक्षेपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने पनि सहभागी हुनुभएको थियो ।









