१४ आश्विन
 पर्वत । नेष्डो वचत तथा ऋण सहकारी संस्था लि. पर्वतको २२औं वार्षिक साधारण सभा, २०७५ चालु आर्थिक वर्षमा जिल्लामा ७ वटै स्थानीय तहमा सेवा विस्तार गर्ने कार्यक्रम पारित गर्दै आइतावार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भयो । वि.सं. २०५३ सालमा सहकारी डिभिजन कार्यालय, कास्कीमा दर्ता भई नियमित कारोवार गर्दै आएको उक्त संस्थालाई गत आथिक वर्ष देखि शेयर खुल्ला गरी नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको हो । हाल शहकारी संस्थामा १ सय ५२ जना शेयर सदस्य र कुल २ करोड २४ लाख शेयर पुँजी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा  २५ लाख २४ हजार ४९३ रुपैयाँ सञ्चालन आय गरेकोमा सञ्चालन तथा कोष विनियोजना गरी ६७ हजार ३३० रुपैयाँ खुद नाफा गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य लालकाजी गुरुङले सहकारी संस्थाहरुले सेयर सदस्यको आर्थिक समून्नतीका माध्यमवाट राष्ट्रकै सम्वृद्धिमा योगदान पु-याएको वताउनु हुँदै वतएमान कर नीतिले स–सना सहकारी संस्थाहरुलाई समेत मारमा पारेको वताउनु  भयो । शहकारी संस्थाहरुले शेयरधनिको आर्थिक सम्वृद्धिका साथै संस्थासंग वचत कारोवार गर्ने साधारण वचतकर्ताको समेत हितलाई ध्यान दिनुपर्ने वताउनु भयो । कार्यक्रममा संस्थाका ऋण समिति संयोजक खेमनाथ शर्मा, शेयर सदस्य सुवास पन्त र अनिता चापागाई लगायतले सहकारीको विविध पक्षहरु, वर्तमान अवसर र चुनौतीको वारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।
साधारणसभाले संस्थाका सचिव नारायण प्रसाईवाट प्रस्तुत आर्थिक वर्ष २०७४\७५ को प्रगति प्रतिवेदनसाथै चालु आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रम पारित गरेको छ । यसै गरी सभाले आर्थिक लेखा परिक्षण प्रतिवेदन स्वीकृती गर्नुका साथै आर्थिक वर्ष २०७५\७६ को वार्षिक लेखा परिक्षणका लागि लेखा परिक्षक समेत नियुक्ती गरेको छ । सभाले चालु आर्थिक वर्षमा जिल्लाका २ नगरपालिका सहित ७ वटा स्थानीय तहमा सेवा केन्द्र खोली जिल्लाभर सेवा विस्तार गर्ने निर्णय गरेको छ भने हालको पुँजीमा कम्तिमा ५० प्रतिशत वृद्धि गर्ने, ग्रामीण स्वावलम्वन कोषमा कर्जा माग प्रक्रिया अगाडी वढाउने, कारोवारालाई नाफामुखी भन्दा सेवामुखी सामाजिक सुरक्षामा जोड दिने जस्ता नीतिगत निर्णयहरु गरेको संस्थाका कोषाध्यक्ष प्रेम प्रसाद पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार सभाले खेम क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको र्निविरोध चयन गरेको छ । समितिका अन्य सदस्यमा प्रतापसिहं पुन र सावित्री पौडेल रहनु भएको छ । यसै गरी सभाले हाल रहेको ७ सदस्यीय सञ्चालक समितिमा खेमनाथ शर्मा, डाँसीराम शर्मा, उमा कुमाल र सपना शर्मा समेत चार जना थप गरी ११ जना पु-याएको छ ।
सभामा एक लाख भन्दा वढि शेयर राख्ने शेयरधनिलाई समूदघाटन समारोहमा शेयर प्रमाणपत्र वितरण गरिएको थियो भने वर्षभरमा उत्कृष्ठ वचत कारोवार गरे वापत शेयरधनि सावित्री पौडेल र उत्कृष्ठ ऋण कारोवार गरे वापत शेयरधनि मिठु सार्कीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, उपाध्यक्ष सावित्री खत्री क्षेत्रीको स्वागतमा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन सहसचिव उत्तम प्रसाद अधिकारीले गर्नु भएको थियो ।