संजय रेग्मी
अशोज १४, २०७५
पर्वत : पर्वतका फलेवास नगरपालिका ११ पाङराङको स्युरासमा दाहसंस्कारका लागि तयारी गरिएको शव प्रहरीलाई बुझाईएको छ।
घरमा २ छोरी सहित बस्दै आएकी स्थानीय ३७ बर्षिया सिता पाठक शुक्रबार साँझ छोरीहरु नभएको बेलामा घरभन्दा केही तल बारीको डिलबाट खस्दा घाईते भएकोमा शनिबार बिहान उनको मृत्यू भएको हो। घट्नामा गम्भीर घाईते सितालाई रातीमै वैद्यकोमा लगेर खोजी गरिएकोमा शनिबार बिहान उपचारको लागि पोखरा लैजाने क्रममा झण्डै १० मिनेट हिँडाएपछि बाटोमै मृत्यू भएको स्थानीय तुलबहादुर पाठकले जानकारी दिनुभयो।
मत्यू भएपछि उनलाई घरमै फर्काएर दाहसंस्कारको तयारीको लागि चरु भुट्ने लगायतका काम भैसकेको बेलामा सिताका माईती पक्षले भने उनको मृत्यू शंकास्पद रहेको भन्दै दाहसंसकार गर्नबाट रोकेर प्रहरीलाई खबर गरेका हुन। माईती पक्षले शवको प्रकृति हेर्दा चिथोरिएको जस्तो देखिएको कारण घट्नाको बिषयमा अनुषन्धान गरेर शवको पोष्टमार्टम गरिनुपर्ने अडान राखेर प्रहरीमा खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार मृतक सिताको शवलाई शनिबार राती सदरमुकाम कुश्मा स्थित पर्वत जिल्ला अस्पतालमा ल्याईकोमा आईतबार पोष्टमार्टम गरिने छ।
मृतक सिताका २ बालिका छोरीहरु घरमै रहेका थिए भने छोरा कुश्माकै बेदबेदांग संस्कृत पाठशालामा अध्ययन गर्दै आईरहेका छन। उनका श्रीमान गोकुल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका छन।